
काठमाण्डु, २४ मंसिर– साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु हुने बित्तिकै सेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले सर्किट ब्रेक लागेको छ ।
कारोबार सरु भएको ५ मिनेटमै नेप्से ४ प्रतिशत अर्थात ७४ अंकले बढेर १९२६ बिन्दुमा पुगेको छ । पाँच मिनेटमै १६ करोड ५२ लाख रूपैयाँको सेयर किनबेच भयो ।
एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे वा घटे २० मिनेटलाई सर्किट ब्रेक लगाउने गरिन्छ । बजार ६ प्रतिशतले बढेमा भने त्यस दिनका कारोबार नै बन्द गरिन्छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा सेयर र घरजग्गा कारोबारलाई टेवा पुग्ने नीति उल्लेख थियो ।
केन्द्रीय बैंकले सेयर र घरजग्गा कर्जामा जोखिमभार घटाइएको थियो । बैंक दर र नीतिगत दर घटाइएकाले व्याजदर घट्ने विश्वासमा लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।