
काठमाण्डु, २२ मंसिर– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एनसेल खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सिंहले एनसेलको शेयर खरिदबिक्री गरी नाम सारी गर्ने काम नगर्न नगराउन कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरेकधा छन् । रिट निवेदनमा एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजश्व कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।
मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो स्वामित्वको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गर्ने सहमति कार्यान्वन हुन नदिन माग गर्र्दै शुक्रबार रिट दायर गरेका हुन् । रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आजियाटाले रेनोल्ड होल्डिङ्स नामकको कम्पनीको शेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेपछि नेपालमा सर्वत्र विरोध भइरहेको छ । रिटमा सिंहले
पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा धेरै कम मूल्यमा शेयर बिक्री गर्न लागिएको बताएका छन् ।
आजिएटाले केही दिनअघि सञ्चार मन्त्रालयलाई जवाफी पत्र पठाउँदै आचार्यलाई ६ अर्ब ६५ करोड रुपैयाँमा आफ्नो स्वामित्वको सबै शेयर बिक्री गरेको स्वीकार गरिसकेको छ ।