नेपालमा उत्पादित आलु–प्याजमा भ्याट लाग्दैनः विभाग

काठमाण्डु टुडे २०८० मंसिर २२ गते १९:५४ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– आन्तरिक राजश्व विभागले देशभित्रै उत्पादित आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै आन्तरिक उत्पादनको आलु र प्याजको खरिद–बिक्रीमा भ्याट नलाग्ने जानकारी दिएको हो । पूर्वप्रतिबद्धताविपरीत आलु–प्याजमा भ्याट लगाइएको भन्दै व्यापारीले ४ दिनयता बिक्री ठप्प पारेका छन् ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीतिअनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विदेशी उत्पादन निरुत्साहित गर्न भन्दै आयातित आलु–प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेको थियो । तर, व्यवसायीले त्यसैको असर बजारमा परेको भन्दै चार दिनयता काठमाण्डु उपत्यकासहित देशभरका ठूला तरकारी तथा फलफूल बजारमा आलु–प्याज बेचेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us