
काठमाण्डु, १३ मंसिर– आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। मंगलबार सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार छ सय रूपैयाँ बढी हो। अघिल्लो दिन अर्थात् सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला २० रूपैयाँ बढेको हो ।