
काठमाण्डु, ७ मंसिर– सरकारले दुई उत्कृष्ट करदातालाई सिंहदरबार प्रवेशका लागि उक वर्षे विशेष पास उपलब्ध गराउने भएको छ ।
कर सप्ताह तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुस्कारले उक्त घोषणा गरेका हुन् । उनले बिहीबारदेखि नै उक्त व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको जानकारी दिए ।
कार्यक्रममा धेरै कर तिर्ने फरकफरक विधाका १६ करदातालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सिंहदरबार प्रवेशमा झण्झट रहेको भन्दै उत्कृष्ट करदातालाई प्रोत्साहित गर्न वशेष प्रवेश पास उपलब्ध गराउन आग्रह गरेका थिए । गत आर्थिक वर्षमा सर्वाधिक कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम भएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आइएमई बैंक, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्यात कारोबारतर्फ डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स्, कृषि तथा पशुपंक्षी उद्योगतर्फ ओबिसी फुड्स प्रालि, स्वास्थ्य शिक्षा क्षेत्रतर्फ नोभेल मेडिकल कलेज, पर्यटनतर्फ मनकामना केवललकार र वस्तु व्यापारतर्फ भाभटेनी सुपर मार्केटले सबैभन्दा धेरै कर बुझाएको जनाएको छ ।
व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा विजयकुमार शाह भएका छन् । संस्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको विभागले जनाएको छ ।