भारतबाट प्रतिलिटर ७ रुपैयाँ घटेर आउँदा पनि आयल निगमले घटाएन डिजेलको मूल्य

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको थियो । यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ ।

पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेर आएको निगम स्रोतले जानकारी दिएको छ । नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउने गरेको छ ।

भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मुल्य निर्धारण गर्छ । तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन ।

भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन् । त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । जसका कारण कैलाली, पोखरा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ । मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us