मंसिर ७ गते माइतीघर–बानेश्वर हाम्रै मान्छेले भरिन्छन्: एमाले नेता बस्नेत

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाण्डुमा देशभरबाट मानिस ल्याएर कार्यक्रम गर्न लागेकै दिन प्रमुख प्रतिपक्षी दल एमाले निकट युवा संघले काठमाण्डुमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

७ मंसिरमा गणतन्त्रको पक्षमा माइतीघरमा युवा संघले प्रदर्शन गर्ने एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन । प्रदर्शनमा ५० हजार मानिस उतार्ने बस्नेतले जानकारी दिएका छन ।

२३ वटा जनसंगठन, पेशाकर्मी, सहकारी पीडित, भूपु सैनिक प्रहरीसहित एमालेको उपत्यकाका तीनै जिल्ला, उपत्यका आसपासका जिल्लाबाट मानिसलाई काठमाण्डुमा उतार्ने उनले जानकारी दिएका छन ।

उनले भने, ‘माइतीघर–बानेश्वर सडकखण्ड हाम्रै मानिसले भरिनेछन्, ‘युवा र अखिलका १५ हजारलाई परिचालन गरिनेछ। पहिलो, बीच र अन्तिम घेरामा उनीहरूलाई राखिएको छ।’

कार्यक्रमबारे प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षानिकायलाई जानकारी गराइएको उनले बताए। ‘कुनै घुसपैठ हुन दिइनेछैन, सबै व्यवस्था मिलाउँछौँ,’ बस्नेतले जिकिर गरे, ‘कार्यक्रम हुनु अघिदेखि नै प्रहरीसँग समन्वय गरेका छौँ।’ प्रसाईँ पक्ष र एमालेको युवासंघ पक्षबीच एकै ठाउँमा कार्यक्रम हुन लागेको छ। तर, बस्नेतले युवासंघबाहेक अरुको कार्यक्रम नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us