

काठमाण्डु, ४ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दैछन् ।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोल्लाइएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
१ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्नेबेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको तर दबाबमुक्त भने भनइसकेको पनि बताएका थिए ।