

काठमाण्डु, २४ कातिक– २०८० सालको असोजमा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान राखेको छ । असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको हो ।
यो अवधिमा भित्रिएको रकम अहिलेसम्मकै उच्च रकम हो । चालु आर्थिक वर्ष आ.व-२०८०र८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको बैंकले जानकारी दिएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो ।
असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आ.व को तुलनामा भने कम हो ।