मुगु सामूहिक हत्याकाण्डमा दुई पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– प्रहरीले मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या गरेको प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ ।

गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटीएका थिए ।

लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोली पनि खटिएको थियो । त्यस लगतै नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेका छन ।

मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको स्रोतले जानकारी दिएको छ । घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए ।

हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो । पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् ।

पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी रहेको प्रहरीले बताएको छ । मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको प्रहरीले बताएको छ ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए । त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए ।

त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए । अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us