राहत र उद्धारका लागि जाजरकोट र रुकुमपश्चिममा ५/५ करोड पठाइने

काठमाण्डु टुडे २०८० कार्तिक १८ गते १७:१० मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक– सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि तत्काल ५ लाख रुपैयाँ पठाउने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लाका लागि ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त रकम पठाइने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।

सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिनेछ । जाजरकोट र रुकुमपश्चिममा गरी १ सय ५७ जनाको ज्यान गइसकेको छ ।

जाजरकोटमा १ सय ४ र रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको छ ।

यस्तै भूकम्पमा परी जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् ।

शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us