प्रिन्सिपल स्वर्णकार हत्याको कारण दोहोरो प्रेम सम्बन्ध

काठमाण्डु टुडे २०८० कार्तिक १४ गते १३:०० मा प्रकाशित

बारा, १४ कात्तिक– बारामा गोली हानी हत्या गरिएका शिक्षक रुपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ ।

कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल स्वर्णकारको सोमबार गोली हानी हत्या गरिएको थियो ।

रुपेशकी पूर्वप्रेमिका पक्राउ परेसँगै हत्यामा प्रेम सम्बन्ध कारक रहेको खुलेको हो । प्रहरीले उनकी प्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ ।

जसमध्ये ३ भारतीय छन् । सोधपुछका क्रममा प्रेमिका राधा गुप्ताले हत्याका कारण प्रेम सम्बन्ध रहेको बताएकी छन् । राधा र मनोज गुप्ताबीच पनि प्रेम सम्बन्ध थियो ।

भारतीय नागरिक मनोज पनि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । राधा स्वर्णकारको विद्यालयमा लेखापालका रुपमा कार्यरत थिइन् ।

उनीहरुबीचको प्रेम सम्बन्ध बाहिरिएपछि मनोजले राधालाई जागिर छाड्न दबाब दिएका थिए । जागिर छाडेपछि पनि स्वर्णकारले राधाको पिछ गर्न नछाडेकाले हत्याको योजना बनाएको मनोजले बयानमा भनेका छन् । विवाहित स्वर्णकारका दुई सन्तान छन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वर्णकारको हत्यामा दोहोरो प्रेम सम्बन्ध पनि एक कारण रहेको बताए । यद्यपि त्यसमा अरु कारण पनि जोडिएको हुन सक्ने उनको भनाइ छ । उनले हत्यामा भारतीय सार्प सुटर प्रयोग गरिएको आशंका गरे ।

सुटरको आशंकामा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले उनीहरुबारे केही बताएको छैन । पत्रकार सम्मेलनमार्फत विस्तृतमा सार्वजनिक गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us