सहकारी ठगी गर्ने पाँच जना पक्राउ

काठमाण्डु टुडे २०८० कार्तिक १३ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– बचतकर्ताको रकम घोटला गरेका लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई छन् ।
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारका आठमध्ये भाइ सुनिल जोशी, श्रीमती रविना श्रेष्ठ (जोशी) र प्रबन्धक रुकु जोशीलाई यसअघि नै काठमाण्डुबाट पक्राउ परेका थिए ।

खोटाङ प्रहरीका प्रवक्ता बेनु कार्कीले आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

आफूहरुको निक्षेप दुरुपयोग गरेको भन्दै बचतकर्ताले २०७९ फागुन २ मा सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

जोशी परिवारले मात्र बचतकर्ताका एक करोड ५० लाखभन्दा बढी बचत हिनाहिना गरेको प्रहरीले जनाएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष जोशीको भने कोभिड सङ्क्रमणका कारण २०७८ वैशाखमा मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us