संसदमा उठ्यो हवाई भाडा वृद्धिको निर्णय फिर्ता लिनुपर्ने माग

काठमाण्डु टुडे २०८० असोज २१ गते १६:३३ मा प्रकाशित

काठमाण्डौं, २१ असोज– एमाले सांसद् सुनिता बरालले सरकारले हवाई टिकटको भाडा वृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सून्य समयमा बोल्दै उनले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पुग्ने गरी भएको भाडा वृद्धि फिर्ता लिन माग गरेकी हुन् ।

‘आज पर्यटक क्षेत्रमा सरकारले १३ प्रतिशतभन्दा बढी हवाई टिकटमा वृद्धि गरेको छ’, उनले भनिन्, ‘यो कहीं नभएको हवाई टिकटमा मूल्य वृद्धि गर्ने कुरालाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटकीय क्षेत्रलाई समृद्धिको आधार निर्माण गर्ने कुरामा थप सचेत हुनुपर्छ ।’

नेपाल आउने ७० प्रतिशत पर्यटकले पोखरालाई प्राथमिक गन्तब्य बनाउने भन्दै उनले चार घण्टाको पोखरा यात्राका लागि १० घण्टासम्म लाग्ने गरेको बताए ।

उनले चाडपर्वको समयमा सर्वसाधारण यात्रुलाई सुरक्षित यात्राको प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले यातायातका साधनको प्रयोग गर्दा सचेतता उपनाउन सम्बन्धित सबै सरोकारवाला पक्षलाई निर्देशन दिन पनि सरकारसँग आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us