१२ करोडको सीमा हटे पनि सेयर बजारमा निराशा

काठमाण्डु टुडे २०८० असोज २१ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, २१ असोज– नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाएर १५ करोड बनाएपछि लामो समयदेखि निराश रहेका लगानीकर्ता उत्साहित भएका थिए ।

सेयर बजार उकालो लाग्ने अपेक्षा गरिएको थियो । तर, सेयर बजारमा त्यसको उत्साह देखिएन । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३५.६७ अंकले घटेको छ ।

नेप्से घटेर १९२१.२४ बिन्दुमा झरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै गत बिहीबार मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाएको थियो । व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकिएपछि लगानीकर्ता उत्साहित भएका थिए ।

राष्ट्रबैंकको कठोर नीतिका कारण बजार माथि उठ्न नसकेको भन्दै १२ करोडको सीमा हटाउन माग गर्दै आएका थिए । आइतबार हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट आएको छ । यस्तै होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमा उपसमूहमा २.२८ प्रतिशत, लगानी उपसमूहमा २.०१ प्रतिशत गिरावट आएको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार बजारमा विभिन्न्न कम्पनीका १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १ अर्ब १० करोडको कारोबार भएको थियो । आइतबार कुल २ सय ३३ कम्पनीका ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच भए । कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भयो ।

१६ कम्पनीको सेयरमूल्य बढेका छन् भने २ सय १३ कम्पनीका सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us