महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित २० रुपैयाँको नोट बजारमा

काठमाण्डु टुडे २०८० असोज १९ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, १९ असोज– नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।

अधिकारी गभर्नर नियुक्त भएपछि पहिलोपटक २० रुपैयाँको नोट शुक्रबारदेखि कारोबारमा आएको हो । राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले शुत्रबार एक सूचना जारी गर्दै यसअघिकै रङ र आकारमा २० रुपैयाँको नयाँ नोट आएको जनाएको हो ।

उक्त नोटको संकेत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्म रहेको विभागले जनाएको छ । यसअघि छापिएको नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर थियो । नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।

तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि।सं. २०७९ लेखिएको छ । त्यस्तै, पृष्ठ मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा बाह्रसिङ्गेको दुई वटा चित्र छ ।

तल्लो भागको बोर्डरमा सिरिज नम्बर अङ्ग्रेजीमा २०२३ एडी लेखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us