सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०८० असोज ९ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, ९ असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १८ अंक बढेको छ ।

योसँगै नेप्से २ हजार २२ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार हिजो १ अर्ब ५६ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएकामध्ये १ सय ९० कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घट्यो । तीन कम्पनीको मूल्य स्थिर रहृयो । बैंकिङ २, विकास बैंक १९, फाइनान्स २५, जलविद्युत् ६६, जीवन बीमा १३४, उत्पादन २०, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा ५९ र अन्य उपसमूह १२ अंक बढे । होटल तथा पर्यटन उपसमूहमा भने १० अंकको गिरावट आएको छ ।

मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भयो ।

हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको मूल्य ५।५ प्रतिशतभन्दा बढी घट्यो । एनआईसी एसिया बैंक, सननेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us