
काठमाण्डु, ७ असोज– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा झरेको छ । राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको सीमा पुनरावलोकन गर्ने भएपछि गत साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको थियो ।
यसअघि नेप्सेमा बिहीबार ४४ अंकको उच्च वृद्धि भएको थियो । आइतबार लघुवित्तबाहेक सबै उपसूचकमा गिरावट आएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखमा सीमित भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भयो ।
२ सय ३१ सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १ सय ६६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।
स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट तहमा कारोबार भयो ।
यस्तै शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लेभलमा कारोबार बन्द भयो ।