
काठमाण्डु, २७ भदौ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।
सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा पुगेको छ । यो गत ७ भदौमा भएको बिन्दु हो । गत बिहीबार नेप्से गत बिहीबार १९३२.४५ को बिन्दुमा बन्द भएको थियो ।
साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार लगातार बढेको नेप्से मंगलबार १९.४२ अंकले घटेको थियो हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेका कारण बजारमा बुधबार हरियाली छाएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.६२ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.२० प्रतिशतले बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार डेढ अर्ब नाघेको कारोबार रकम मंगलबार घटेर करिब १ अर्ब नजिक झरेको थियो । बुधबार बढेर १ अर्ब ४९ करोड ५५ लाख पुगेको छ । बजारमा ३६ हजार ४५ वटा कारोबारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।
बुधबार नेप्सेमा कुल २ सय २८ सूचीकृत कम्पनीका सेयर कारोबार हुँदा २ सय १३ कम्पनीको मूल्य बढेको छ । यस्तै ११ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।