मेस्सीका चर्को समर्थक थिए सुवास नेम्वाङ

काठमाण्डु टुडे २०८० भदौ २७ गते ७:५० मा प्रकाशित

काठमाण्डु, २७ भदौ– कतार विश्वकप सुरू हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, ‘मलाई साह्रै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु ।

अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’
कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए । सार्वजनिक मञ्चमा बेलाबेला फुटबलको प्रसङ्ग पनि ल्याउँथे । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडी हुन् ।
२०७८ असारतिरको कुरा हो त्यतिबेला एमालेभित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो ।
पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ । घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो बेला सञ्चारकर्मीसँग भनेका थिए, ‘बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ । छलफल सकारात्मक रुपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।’

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए । इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाए या भएन त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन ।

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे । पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रियर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे ।

विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए । सञ्चारकर्मीसँगको कुराकारीमा उनी इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउँथे । काठमाण्डु आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्थे । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उनीले फुटबल हेर्थे ।

विश्व फुटबलमा उनलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताउँथे । राति १२÷१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनी सुनाउँथे ।
कुशल राजनीतिज्ञको छवि बनाएर अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण सोमबार राति निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमाले संसदीय दलको उपनेता थिए । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा स्थापित थिए ।

विक्रम सम्वत २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका रुपमा जन्मिएका उनी संविधान र कानूनका ज्ञातासमेत हुन् । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्ने नेम्वाङ २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित भएका थिए । नेम्वाङको राजकीय सम्मानसहित बिहीबार अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us