संविधानका पिताको महाप्रस्थानमा दुई शब्द

राजेन्द्र फुयाल २०८० भदौ २६ गते ११:३३ मा प्रकाशित

पदले मानिसलाई ठूलो र अविस्मरणीय बनाउँदैन । नश्वर शरीरको अवसानपछि पनि कसैलाई चीर स्मरणीय बनाउँछ भने त्यो पदमा रहँदा वा नरहँदा उसले खेलेको भूमिका हो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति निर्वाचित हुन सक्नु भएन । तर १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन र संविधान निर्माणमा पर्याएको योगदानका कारण नेम्वाङलाई संविधानको पिता भन्दा अन्यथा हुँदैन । दुईपटक निर्वाचित संविधानसभाका अध्यक्ष र सभामुखका रुपमा रहँदा उहाँले सहकर्मी सांसदहरुको मात्र होइन, सिगो मुलुकको मन जित्नुभयो । पहिलो संविधानसभा असफल हुँदा होस कि दोस्रो संविधान सभाले जनताको संविधान जारी गर्दा होस, उहाँले आपुूलाई समावेशी
लोकतन्त्रको सच्चा अनुयायी, संविधानवाद र विधिको शासनको प्रवर्तकका रुपमा उभ्याइरहनुभयो । सभाको नेतृत्वमा सधैं सर्वसम्मत चुनिनुभएका मृदुभाषी, शालिन व्यक्तित्वका धनी नेम्वाङले सदनलाई जहिले पनि खुला र जनताको पहुँचमा राख्नुभयो ।

पत्रकारलाई संसदको पदेन सदस्यको दर्जा दिएर सभामुखको कार्यकक्षमा सधैं खुला राख्नुभएका नेम्वाङले हमेशा देशको सामाजिक, सांस्कृतिक विविधताको सम्मान र र राष्ट्रिय एकताको प्रवर्धन गर्नुभयो । २०४८ र ५२ मा राष्ट्रिय सभाका सदस्य निर्वाचित हुनु भएका नेम्वाङ २०५१ मा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारका कानून मन्त्री हुनुहुन्थ्यो । एमाले विभाजनका बेला २०५६ को आम निर्वाचनमा इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसदमा उहाँको भूमिका बढेको थियो । सार्वजनिक लेखा समितिका सभापतिका रुपमा उहाले बहुचर्चित लाउडा काण्डको छानबिन गराउनुभएको थियो । संसदीय समितिमा पत्रकारले सहज पहुँच पाएको पनि त्यही बेलादेखि हो ।

तसर्थ संसदीय मामिलामा कलम चलाउने पत्रकारहरुले सदैव उहाँलाई आफ्नो अभिभावक ठान्छन् । २०६२÷०६३ को जनआन्दोलन संयोजनक समितिको सदस्यका रुपमा उहाले लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्नुभएको थियो । जनआन्दोलनको बलमा पुर्नस्थापित संसदको नेतृत्व गर्ने सौभाग्य पनि उहाँले नै प्राप्त गर्नुभयो । त्यही संसदले २०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत तत्कालीन राजाका सबै अधिकार कटौती गरे । नकारात्मक हिसाबले त्यही नै मुलुकलाई दिगो शान्ति र संविधानसभाको बाटोमा ल्याउने प्रस्थान बिन्दु बन्न गयो ।
वृहत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थपिका संसदको नेतृत्व पनि उहाँले नै गर्नुभयो । संसद नमान्ने माओवादी र त्यसको नाम छोड्न नसक्ने काँग्रेसबीच सझदारी बनाएर व्यवस्थापिका संसद् सञ्चालन गर्नु साँच्चै एउटा असामान्य थियो ।

संसदलाई विवाद होइन, संवादको थलो बनाउन, जनताका अवाज अवरुद्ध हुन नदिन उहाँले गरेको निरन्तरको प्रयासकै कारण उहाँको व्यक्तित्व विपक्षिका आँखामा पनि नबिझाउने भएको हो । संविधानसभाबाट संविधान जारी गर्ने दायित्व पुरा गरेपछि भने उहाँले संसदको नेतृत्वबाट पनि बिदा लिनुभयो । औपचारिक रुपमा सभामुख नभएपनि उहाँलाई धेरैले सभामुख भनेकै सुवास नेम्वाङका रुपमा सम्झन्छन् । त्यसयता पनि उहाँले एमाले संसदीय दलको उपनेताका रुपमा भन्दा बढी सबैको साझा नेताका रुपमा संसदीय भूमिका निर्वाह गर्नुभयो ।

संक्रमणकालिन न्याय र शान्ति प्रक्रियाका बाँकी कामलाई टुगोंमा पुर्याउने उहाँको प्रयासले सार्थकता नपाउँदै उहाँले अनायासै महाप्रस्थान गर्नुभएको छ । सत्ता राजनीतिको खिचातानी र अन्तरिक कलहले थिलथिलिएको नेपाली राजनीतिले सायद नेम्वाङको शालिनता र सु–संस्कृत राजनीतिलाई झलझलती सम्झिरहने छ ।

(नेम्वाङसँग विशेष सम्बन्ध राख्ने राष्ट्रियसभाका निवर्तमान सचिव फुयालसॅग लामो समय कान्तिपुर दैनिकमा संसदीय रिपोर्टिङ गरेको अनुभव छ) 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us