सुन तस्करी प्रकरणको तरंगः विमानस्थल भन्सारका कर्मचारीले ठप्प पारे काम

काठमाण्डु टुडे २०८० भदौ २५ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कर्मचारी भन्सार जाँचपासको काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले निकाशी पैठारीका सबै काम बन्द गरेका हुन् । सोमबार र मंगलबार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने कर्मचारीले जनाएका छन् । कर्मचारीलाई हतोत्साहित गरी तथा मनोबल गिराउने र आत्मसम्मानमा ठेस पुर्याउने काम भएको बताएका छन् ।

कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै गत १२ भदौमा सामूहिक राजीनामा दिएका थिए । कर्मचारीहरुले जारी गरेको सामूहिक विज्ञप्तिमा विभिन्न निकायबाट जारी निरन्तरको हस्तक्षेप बन्द नभएसम्म काममा नफर्कने उल्लेख छ । उनीहरुले नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा राख्ने काम अविलम्ब बन्द गर्नुपर्ने बताएका छन  ।

यस्तै कार्यालयमा आवश्यक भौतिक पूर्वाधार र आधुनिक प्रविधिहरूको व्यवस्था यथाशिघ्र गर्न, कार्यस्थलमा डरत्रास बिना, निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्नै, अनुसन्धान गर्ने विभिन्न निकायले बिना प्रमाण, पक्राउ पूर्जी अनुमती नलिई कर्मचारीहरूलाई गिरफ्तार गर्ने, दुः ख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने, सिआइबीले बिना प्रमाण केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा लिएको अवस्थामा के–कति कारणले गिरफ्तार गरेको हो सो विषय कर्मचारी कार्यरत कार्यलयलाई समेत जानकारी नदिई अमानवीय तथा अपराधिलाई जस्तै निकृष्ट व्यवहार गरी गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने, अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी मिडियाबाजी गर्ने, दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने, सिआइबीबाटै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मुख्य योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने माग कर्मचारीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us