अराजक बन्दै हर्क साम्पाङः आफूमाथि प्रश्न गरेको भन्दै युवकलाई थुनाए

काठमाण्डु टुडे २०८० भदौ २३ गते १५:३३ मा प्रकाशित

धरान, २३ भदौ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई मुख छोडेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

राईले आफूमाथि पश्न गरेका कारण ती युवकलाई प्रहरी हिरासत पुग्नुपर्ने बाध्यता सृजना गरेका हुन् । साम्पाङको उजुरीका आधारमा प्रहरीले धरान–१५ का अशोक लिम्बूलाई पक्राउ गरेको हो । शुक्रबार आयोजित एक सार्वजनिक कार्यक्रममा मेयरमाथि प्रश्न गरेका थिए ।

ती युवकले साम्पाङलाई ‘हर्क दाई’ भनेर सम्बोधन गरेका छन् । डेंगीको महामारीले धरानमा मानिस बिरामी भइरहेका बेला महामारी नियन्त्रणको प्रयास गर्नुको साटो फोटो खिचाउँदै हिँड्ने ? भन्ने प्रश्न उनको थियो । जवाफमा रिसाउँदै साम्पाङले ‘तिमी मेरो विरोध गर्न आएको ?’ भनेका थिए ।

हर्कले तत्काल उनलाई पक्राउ गर्न नगर प्रहरीलाई निर्देशन दिए र नगर प्रहरीले उनलाई पक्राउ ग¥यो । ती युवकलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले मेयर हर्कको मौखिक उजुरीमा युवकलाई हिरासतमा राखिएको बताए ।

उनले आफूहरुले पक्राउ गरेको नभई नगर प्रहरीले ल्याएर बुझाएको उनको भनाइ छ । राईले भने अराजक युवालाई थुनाएको भन्दै फेसबुकमार्फत जानकारी दिएका छन् ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको उजुरीका आधारमा पक्राउ गरिएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us