
काठमाण्डु, २० भदौ– कांग्रेस नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापति उम्मेदवार आफू बन्न सक्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले आफू देउवा समूहबाट उम्मेदबार बन्न सक्ने बताए । त्यसबारे अन्तिम टुंगो लाग्न भने बाँकी नै रहेको उनको भनाइ थियो ।
सञ्चारकर्मीले देउवाको सभापति उम्मेदवार बन्न चालेको भन्दै चर्चा सुनिएको र त्यो सम्भावना छ कि छैन भन्ने पश्न सञ्चारकर्मीले कोइरालालाई सोधेका थिए ।
जवाफमा उनले भने, ‘त्यो सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ र ? सभापति देउवा र आफूबीच त्यसबारे कुनै कुरा भने नभएको उनको स्पष्टोक्ति थियो ।
कोइरालाले पार्टीमा आफ्ना साथीहरुसँग सरसल्लाह गरेर मात्र उम्मेदवारी दिनेबारे निर्णयमा पुग्ने बताए ।
‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ’, उनले भने, ‘पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं । अनि मात्रै निर्णय गर्छु,’ उनले भने ।