काँग्रेस नेता यादवमाथि खुकुरी हान्ने व्यक्ति भन्छन्ः राजतन्त्र स्थापना गर्न कुखुरी बोकेको हुँ

काठमाण्डु टुडे २०८० भदौ २० गते १५:२९ मा प्रकाशित

काठमाण्डु, २० भदौ– सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी हान्ने व्यक्तिले आफू राजावादी भएको बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका उनले गणतन्त्रवादीहरुलाई आक्रमण गर्ने योजताअन्तर्गत आफूले यादवमाथि खुकुरी हानेको स्वीकार गरेका छन् ।

खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिका–७ का ४७ वर्षीय श्यामबहादुर सापकोटालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । काठमाण्डु प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले खुकुरीसहित समातिएका सापकोटासँग बयान लिने क्रम जारी रहेको बताए ।

उनले आफू सामाजिक अभियन्ता भएको दाबी गरेका छन् । मुलुकको राजतन्त्र स्थापना जरुरी भएकाले नेताहरुमाथि आक्रमण गर्ने अभियानकै रुपमा आफूले यादवमाथि खुकुरी प्रहार गरेको बताएका छन् ।

प्रहरीले पक्राउ गर्न लाग्दा उनले राजसंस्था जिन्दावाद भन्दै हल्ला गरेका थिए । प्रहरीले भयानमा राखेपछि सापकोटाले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै चिच्याएका थिए ।

रिपोटर्स क्लबमा आयोजित साक्षत्कारमा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि कुखुरी प्रहार भएको थियो । टाउकोमा गहिरो चोट लागेका यादवको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यादवको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us