
काठमाण्डु, २० भदौ– नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा एकै साथ ५१ वटा चार्जिङ स्टेशन निर्माण गरेको छ ।
विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा उदघाटन गरे । नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा
स्थापना गरिएको फास्ट चार्जिङको मन्त्री र सचिवले उदघाटन गेरका थिए । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा ती चार्जिङ स्टेशन निर्माण भएका हुन् ।
सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहरहरूमा छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण भएसँगै विद्युतीय सवारी सधानलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई बल पुगेको छ ।
कूल लागत ४० करोड भएको प्राधिकरणले जनाएको छ । ५१ मध्ये २६ वटा चार्जिङ स्टेशनमा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना गाडी चार्जिङ गर्न मिल्ने छ ।