एमाले लुम्बिनीमा चलेन ओलीको आदेश, विष्णु पौडेल पक्षका कँडेल अध्यक्षमा निर्वाचित

काठमाण्डु टुडे २०८० भदौ २० गते ८:०१ मा प्रकाशित

बुटवल, २० भदौ–एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा हरि रिजाललाई पराजित गर्र्दै कँडेल निर्वाचित भएका हुन् । कँडेलले ४ सय ७९ र रिजालले ४ सय ७७ मत पाए ।

कूल १ हजार ४ मतदाता रहेकामा ९ सय ६५ मत खसेको थियो । पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्यूठानका रिजाललाई महासपचव शंकर पोखरेलको समर्थन थियो । कँडेल यसअघि पनि प्रदेश अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रदेशको नेतृत्व गर्ने आकाक्षासहित चुनावमा होमिएका थिए ।

उपाध्यक्षमा कँडेल समूहकै भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत ल्याएर विजयी भए । रिजाल समूहका विश्वराज बरालले ३०६ मत पाए । सचिव पदमा पनि कँडेल समूहकै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

पुरुष उपसचिवमा रिजाल समूहका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी रिजाल समूहका दुर्गाप्रसाद थारूले ३ सय ९३ मत पाए महिला उपसचिवमा कँडेल समूहकै लिला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भइन् । रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३ सय ५१ मत ल्याइन् ।

एमाले अध्यक्ष केपी ओलीले १६ भदौमा अधिवेशन उदघाटन गर्दै सहमतिमा नेतृत्व चउन गर्न निर्देशन दिएका थिए । तर, उपाध्यक्ष पौडेलको साथ पाएका कँडेल र महासचिव पोखरेलको साथ पाएका रिजाल पछि नहटेपछि चुनाव भएको हो । ओलीले रिजाललाई अध्यक्ष घोषणा गर्न दबाब दिएका थिए ।

तर, कँडेलले ओलीको निर्देशन अस्वीकार गर्दै चुनाव लड्ने अडान लिए । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय नेताहरु पनि स्पष्ट दुई खेमामा उभिएका थिए ।

पौडेल समूहका कँडेललाई सचिव गोकर्णराज विष्ट, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने र बैजनाथ चौधरीको साथ थियो ।

उपमहासचिव प्रदीप, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालका पक्षमा खुलेरै लागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us