एमाले लुम्बिनी प्रदेशमा विष्णु पौडेल र शंकर पोखरेलको प्यानल

काठमाण्डु टुडे २०८० भदौ १९ गते ८:१५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि दुवै समूहले प्यानल बनाएका छन् । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूह प्यानलै बनाएर चुनावमा होमिएको हो ।

अध्यक्षका राधाकृष्ण कँडेल र हरि रिजाल मैदानमा छन् । पाल्पाका कँडेललाई उपाध्यक्ष पौडेल र प्यूठानका रिजाललाई महासचिव पोखरेलको समर्थन छ ।

कँडेल निवर्तमान प्रदेश अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्यबाट राजीनामा प्रदेशमा चुनाव लड्न आएका हुन् । दुवै समूहले प्यानल बनाएर निर्वाचन प्रचार–प्रसार गरिरहेका छन् । निर्वाचनमा पार्टीका केन्द्रीय नेताहरु पनि स्पष्ट उपाध्यक्ष पौडेल र महासचिव पोखरेल खेमामा उभिएका छन् ।

पौडेल समूहमा सचिव छविलाल विश्वकर्मा र गोकर्ण विष्ट तथा पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने र बैजनाथ चौधरी छन् ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी महासचिव पोखरेल मेखामा उभिएका छन् ।

अध्यक्ष केपी ओलीले अधिवेशन उदघाटनका क्रममा सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, दुई शक्तिशाली नेताहरुको समर्थन पाएका कँडेल र रिजाल पछि हट्न तयार नभएपछि सहमति प्रयास असफल भएको हो । पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा भने दाङका लक्ष्मण आचार्य सोमबारै निर्विरोध निर्वाचित भइसकेका छन् । अधिवेशन स्थल बुटवल अन्तर्रास्ट्रिय सभाहलमा मतदानको तयारी गरिएको छ । १२ जिल्ला र २३ जनवर्गीय संगठनबाट अधिवेशनमा १ हजार बढी प्रतिनिधि सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us