
काठमाण्डु, १८ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन तथा सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न चेतावनी दिएको छ ।
जिल्ला प्रशासनले सोमबार विज्ञप्तिमार्फत त्यस्तो चेनावनी दिएको हो । विज्ञप्तिमा कुनै गुनासो भए तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन उल्लेख गरिएको छ । विप्तिमा जथाभावी वक्तव्यबाजी नगर्न सुझाइएको छ ।
असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको काठमाण्डु प्रशासनको भनाइ छ ।
‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत स्मरण गराइएको छ ।
जिल्ला प्रशासनले सरकारी श्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै स्थानीय प्रशासनले विगतदेखि नै गर्दै आएको स्मरण गराइएको छ ।
मितव्ययीता अभिवृद्धि गर्न सहयोग पुग्ने यस्ता अभियान आगामी दिनमा पनि निरन्तर रहने काठमाण्डु प्रशासनले स्पष्ट गरेको छ ।
लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
साहले आफ्नी पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले जेकजाँच गरेको झोकमा सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाउने धम्कीपूर्ण भनाइ सार्वजनिक गरेका थिए ।
काफ्ले सवार महानगरको सरकारी गाडी शनिबार कोटेश्वरमा ट्राफिक प्रहरीको नियमित चेकजाँचमा परेको थियो ।
सार्वजनिक बिदाका दिन लिनुपर्ने सवारी पास नभएको पाइएपछि अबदेखि पास लिएर हिंड्न प्रहरीले सुझाव दिएको थियो ।