देशमा रणबहादुर र जंगबहादुरहरु आउने खतरा देख्दै छुः भट्टराई

काठमाण्डु टुडे २०८० भदौ ११ गते ८:०० मा प्रकाशित

काठमाण्डु, ११ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले रणबहादुर र जंगबहादुरहरू आउने र जाने भए पनि देश र जनतालाई धेरै ठूलो नोक्सान हुने बताए । भट्टराईले भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भूमरीमा पर्दै गएको भन्दै यस्तो बेला संघीय गणतन्त्र पक्षधर शक्तिहरुबीच राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘देश आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भइरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्दको भू–सामरिक भूमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो’, भट्टराईले भनेका छन्, ‘परन्तु चरम सत्ता लोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति र शक्तिहरूको सत्ता लुछाचुँडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटु सत्य हो ।’

अहिलेको गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने धेरै ढिलो हुनसक्ने बताए ।

‘रणबहादुर र जंगबहादुरहरू त आउॅछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ’, उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us