नक्कली भुटानी शरणार्थी प्रकरणः तीन अभियुक्तको फेरि बयान लिइने

काठमाण्डु टुडे २०८० भदौ १० गते १९:१२ मा प्रकाशित

काठमाण्डु, १० भदौ– प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीन जनाविरुद्ध फेरि बयान लिने भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

गत साउन अन्तिममा १८ पीडितले उक्त प्रकरणमा भण्डारी, दुलाल र केसीविरुद्ध काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीमा ती तीन जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाइदिएबापत १ करोड ८५ लाख रुपैयाँ बुझाएको उल्लेख छ । अपराध अनुसन्धान कार्यालयले जाहेरीसहित थप अनुसन्धानका लागि गत २६ साउनमा जिल्ला प्रहरी परिसर काठमाण्डुमा लेखी पठाएको थियो । १८ जाहेरीकर्तामध्ये चार जनासँग काठमाण्डु प्रहरीले बयान लिइसकेको छ ।

बाँकी १४ जाहेरीकर्ताको बयान छिट्टै हुने र त्यसपछि आरोपीको बयान सुरु हुने परिसरका एक उच्च अधिकारीले बताए । यसअघि १ सय २३ पीडितले २० जनाविरुद्ध जाहेरी दिएका थिए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै संगठित गिरोह बनाएर रकम असुल्ने कार्यमा संलग्न एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री, टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १८ जना पुर्पक्षका लागि थुनामा छन् ।

यसैबीच काठमाण्डु परिसरका नयाँ प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले भुटानी शरणार्थी प्रकरणको छानबिन प्रभावित नहुने बताएका छन् । आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरीको व्ययसायिकता र निष्ठामा शंका नगर्न आग्रह गरे ।

खत्रीले यसअघि प्रक्रियामा रहेका कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने प्रतिबद्धता जनाए कानुनले दिएको अधिकार प्रयोग गरी उक्त प्रकरणमा मुछिएका सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने पनि स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us