
काठमाण्डु, १० भदौ– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापतिमा सांसद् माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।
सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा पहिलोपटक संसदमा प्रवेश गरेको भए पनि प्रभावकारी भूमिका निर्वाह गर्ने सांसदमा पर्छन् ।
संसदमा राम्रो भूमिका खेलेका सापकोटालाई माओवादी नेतृत्वले समिति सभापतिको जिम्मेवारी दिन लागेको हो । प्रतिनिधिसभाको १० विषयगत समितिको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
माओवादीले पाएको दुईमध्ये पूर्वाधार समितिमा सापकोटा र कानुन, न्याय तथा मानवअधिकारी समिति सभापतिमा विमला सुवेदीर्लाइ जिम्मेवारी दिने तयारी माओवादीले गरेको छ ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्ष एमालेबीच समिति सभापतिहरुमा भागबण्डाको सहमति भएको छ । काँग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २ तथा जसपा, नेकपा एकीकृत समाजवादी र जनमतले एक/एक सभापति लिने समझदारी छ ।
ठूला दलले संसदको चौथो दल रास्वपा र पाचौं दल राप्रपालाई समिति सभापतिमा निषेध गरेका छन् ।