
विराटनगर, १ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी ४ भदौमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
थापाले शुक्रबार प्रदेशसभामा ४ गते विश्वासको मत लिने सूचना दर्ता गराएका छन् । उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएकी छन् ।
यद्यपि एमालेले दनुवारलाई राजीनामा गराउने चर्चा छ । यसअघि सत्ता पक्षका सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
एमालेले उपसभामुखको राजीनामा गराउने चर्चाका बीच ज्येष्ठ सदस्य काँग्रेसका गयानन्द मण्डल कृषिराज्यमन्त्री नियुक्त भएका छन् । उपसभामुखले राजीनामा दिएको अवस्थामा मण्डलले बैठक चलाउनुपथ्र्यो ।
त्यसो हुँदा उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन मिल्दैनथ्यो । कोशी प्रदेशसभामा सत्तापक्ष र विपक्षी गठबन्धनमा बराबर ४६ मत छ । थापा सभामुखलाई राजीनामा गराएर १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।