गृहमन्त्रीको सचिवालयद्वारा एमालेलाई चेतावनीः संसद अवरुद्ध गर्नुको रहस्य सतहमा आउँदैछ

काठमाण्डु टुडे २०८० भदौ १ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, १ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर संसद अवरुद्ध गर्नुको रहस्य बाहिर आउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार गौतमले उक्त रहस्य अनुसन्धानले सतहतमा ल्याउने बताएका हुन् । उनको पोष्टले प्रमुख प्रतिपक्षी एमालेतिर संकेत गरेको छ ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर एमालेले गत साउन १० यता संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि राजश्व अनुसन्धान विभागले उक्त प्रकरण छानबिन गरे पनि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सो प्रकरणको छानबिन गरिरहेको छ ।

‘उच्चस्तरीय छानविन समितिको माग गरेर संसद अवरुद्ध गर्नुका रहस्यहरु CIB को अनुसन्धानले अवश्य सतहमा ल्याइदिने छ । भ्रमको आयु लामो हॅुदैन’, माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका गौतमले लेखेका छन् ।

राजश्व अनुसन्धान विभागले गत २ साउनमा भन्सार पास भएर बाहिरिएको सुन बरामद गरेको थियो । मोटरसाइकलको बे्रक शुभित्र लुकाएर ल्याइएको सुन जोख्दा ६० केजी कायम भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us