
काठमाण्डु, ३० साउन– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगम सञ्चालक समिति बैठकले बुधबार राति १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।
निगमद्वारा मंगलबार जारी विज्ञप्तिमा पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले वृद्धि भएको उल्लेख छ । खाना पकाउने एलपी ग्यास र हवाइै इन्धनको मूल्य भने यथावत छ ।
स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य सूचीअनुसार निगमले मूल्य समायोजना गरेको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ८५ पैसा र डिजेलमा ११ रूपैयाँ २५ पैसा वृद्धि गरी नयाँ मूल्य सूची पठाएको छ ।
मूल्य अभिवृद्धि करको प्रभाव एवं हालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आर्इओसीले पठाएको मूल्यअनुसार नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।
काठमाण्डुमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रूपैयाँ पर्नेछ । यस्तै डिजेल तथा मट्टीतेल मूल्य १ सय ६७ रूपैयाँ प्रतिलिटर पर्नेछ ।