खाँणतर्फ लक्षित गर्दै गगनले भनेः फौजदारी अभियोग लागेपछि निलम्बन गर्नुपर्छ

काठमाण्डु टुडे २०८० साउन ८ गते १९:०६ मा प्रकाशित

काठमाण्डु, ८ साउन– कांग्रेस महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।

सोमबार केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेको धारणाबारे जवाफ दिने क्रममा थापाले १३ बुँदे प्रस्ताव राखेका हुन् । अनुसन्धान गर्ने निकायले तीन वर्षभन्दा बढी सजाय माग गरेर मुद्धा दायर गरेको अवस्थामा काँग्रेसका कुनै पनि जिम्मेवारीमा रहेका व्यक्तिले स्वघोषणा गरेर पार्टीबाट अलग हुनुपर्ने र नभए निलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।

काँग्रेस भएकै कारण गल्ती गर्दा छुट पाउने र काँग्रेस भएकै कारण बिना गल्ती सजाय पाउने दुवै कुरा हुन नसक्ने उनको प्रष्टोक्ति थियो ।
‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ’, प्रस्तावमा उनले भनेका छन् ।

बैठकमा नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्दा पार्टी नेताहरुले नै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएको र सार्वजनिक रुपमा बचाउ नगरेको भन्दै संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us