

काठमाण्डु, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर ठाडो गर्ने गरी भ्रमण नगरेको बताएका छन ।
ओलीले मन्त्रीहरुलाई छोडेर छोरीलाई प्राथमिकतामा राखेको टिप्पणी गर्दै अर्थमन्त्री, परराष्ट्र मन्त्री र अरु मन्त्री कता हो केही थाहा नभएको र भद्रगोल भएको आरोप उनले लगाएका छन ।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो। नेपालको संसदले सर्वसम्मतले संविधान संशोधन गर्दै चुच्चे नक्सा पारित गरेको हो,’ उनले भने, ‘यो कुरा शिर ठाडो राखेर प्रधानमन्त्रीले राख्न सक्नुभएन।’
उनले कालपानी र लिपुलेक लगायतका भूमि सदर भइसकेको दाबी गर्दै इतिहास र विश्वमा भएका नक्साकै कारण यो सदर भएको बताएका छन ।