
काठमाण्डु, ७ जेठ–उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन । आज (आइतबार) साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग भएको भेटमा उनले यस्तो बताएका हुन ।
उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लागीपर्ने बताएका छन । उनले भने, ‘राष्ट्रपति ज्यूले भर्खरै संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ । ’
महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण व्यवसायी आफ्नो व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
उनले महँगो घरभाडा, चर्को भन्सार दरबन्दी, विविध शीर्षकमा चर्को कर, कच्चापदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, कारोबारमा मन्दीलगायतले व्यवसायी मारमा परेको बताएका थिए ।