केपी ओलीको प्रश्न: बालुवाटारको ललिता निवास काण्ड लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो ?

काठमाण्डु टुडे २०८० जेठ ७ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले भ्रष्टाचार भएका सबै विवादित काण्डहरूको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन ।

उनले भने, ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका विषयहरूमा जो विवादित छन्, अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने हो ?’

उनले अगाडि भने– ‘हामी भ्रष्टाचार यो समयको र उ समयको, यसले गरेको र त्यसले गरेको भन्दैनौँ । भ्रष्टाचार भ्रष्टाचार नै हो । यसको पद, जात, लिङ्ग र समय हुँदैन ।

इतिहासको जुनसुकै कालखण्डमा जो सुकैले गरेको भ्रष्ट्राचार छानबिनको दायरामा ल्याइनुपर्छ । सयौँ वर्षपछि पनि गलत कार्यको स्वीकारोक्ति, क्षतिपूर्ति र सजाय भइरहेका धेरै उदाहरण हामी विभिन्न देशमा भइरहेको देख्न सक्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us