दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ: केपी ओली

काठमाण्डु टुडे २०८० जेठ ७ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताएका छन ।

आज आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लीदैँ उनले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताएका हुन ।

उनले त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ को कार्ड समेत बनिसकेको बताएका छन ।

उनले आफू प्रधानमन्त्री भएको बेला बाँकी रहेका शरणार्थीलाई पनि तेस्रो देश पठाउन समिति बनेर त्यसले केही प्रस्ताव पठाएपनि होल्ड गरेको बताएका छन ।

उनले आफू हटेपछि बनेको नयाँ सरकारले प्रस्तावलाई फिर्ता पठाएको, तर प्रतिवेदनको कभर उही राखेर सूची फेरिएको भन्दै ओलीले भने, ‘परिर्वतन गर्ने को हो रु खोजी गर्नुपर्दैन ?’

उनले यो प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि त्यो सफल नहुने दाबी गरेका छन । उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक पटक प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’

उनले केही पनि दोषी छुट्न नहुने बताएका छन । ‘तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us