
काठमाण्डु, ७ जेठ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छन ।
आज (आइतबार) न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन । उनले भनिन्, ‘ अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने खालको छैन।
अन्यत्र क्षेत्रमा तलव वृद्धि हुँदा पनि श्रमजीवि पत्रकारलाई दिने गरिएको न्युनतम पारिश्रमीक बाँच्न गाह्रो खालको छ भन्ने छ, यसमा हामी हेर्नेछौँ।’
मन्त्री शर्माले अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताएकी छन । उनले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा उठाएको भन्दै समानुपातिक विज्ञापनले पनि न्युनतम पारिश्रमीकको कतिपय कुरालाई समेट्ने बताएकी छन ।
उनले विज्ञापनमा एकद्वार प्रणाली र समानुपातिक विज्ञापनले विज्ञापनमा हुने चुहावटहरु कम हुने बताएकी छन । उनले भनिन् ‘हामीले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा गरेका छौँ, त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नेकुरा एक ठाउँमा छ, ‘एकद्वार प्रणालीको कुरा पनि गरिसकेका छौँ । यसले विज्ञापनमा हुने चुहावटहरु त्यो मिडिया हाउसमा सिधा पुग्नेछ।’ उनले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएकी छन ।
उनले भनिन्, ‘सरकारले विज्ञापनका माध्यमबाट लगायतका माध्यमबाट एउटा विशेष कार्यक्रम बनाउन सकिन्छ। मन्त्रालय श्रमजिवी पत्रकारहरुले बाँच्नेगरी तलव पाउनुपर्छ, भन्नेकुरामा सकारात्मक छ ।
यसमा मन्त्रालयमा आन्तरिक छलफल गर्नेछौँ।’ मन्त्री शर्माले ऐन विपरित नियमावली बनेर चलाइएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दिशामा सरकार रहेको बताइन् ।
पारिश्रमिक निर्धारण समितिले प्रत्येक २ वर्षमा न्युनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्नेमा कोरोनाको कारण देखाइ पछिल्लो समय न्युनतम पारिश्रमीक पुनरावलोकन हुन नसकेको भन्दै नयाँ पारिश्रमिक पुनरावलोकन सिफारिस कार्यान्वयनमा ल्याउन माग गरेको छ ।