
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाएका छन ।
सरकारको नीति तथा कार्यक्रममाथि आज आइतबार बसेको प्रतिनिधिसभामा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’
उनले देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको बताएका छन । उनले दुई महिना पुग्दानपुग्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै उनले विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताएका छन ।
उनले भने, ‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें । कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ रु त्यो मैले पहिल्याउने कोसिस गरें ।
कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें ।’
तर सरकारप्रतिको विश्वास, जनआकांक्षा सम्बोधनको ग्यारेन्टी, सरकारको मार्गचित्र नीति तथा कार्यक्रमले नै निर्धारण गर्ने भन्दै उनले त्यस अनुसार आफूले नपाएको बताएका छन ।