प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीहरु नियमित पार्टी कार्यालयमा जानैपर्ने

काठमाण्डु टुडे २०८० वैशाख १ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १ वैशाख– नेकपा माओवादी केन्द्रले आज शुक्रबार नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्री प्रचण्डसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ ।

जसअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरु कार्यतालिका बमोजिम पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने भएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयमा धेरै भिडभाड हुन थालेपछि कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरुले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने बताएका छन । कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् ।

सोमबार पर्यटन मन्त्री, मंगलबार सञ्चारमन्त्री, बुधबार प्रशासन मन्त्री, बिहीबार गृहमन्त्री, शुक्रबार प्रधानमन्त्री र शनिबार सल्लाहकार तथा विज्ञहरु पार्टी कार्यालय जाने भएका छन ।

प्रधानमन्त्रीले आफ्ना टिमसँग प्रत्येक शनिबार २ घण्टा छलफल गर्ने र आफैँ भेट्न आउनेभन्दा पनि बोलाएर भेट्न आउनेलाई प्राथमिकता दिने व्यवस्था छन ।

अब प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना खानेगरी अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको छ ।

टोलीमा सहिद तथा बेपत्ता परिवार, जनमुक्ति सेना र घाइते तथा अपाङ्गलाई नछुट्नगरी राख्नुपर्ने छ । सर्वसाधरणसँगको भेटघाटलाई सहज र व्यवस्थित बनाइने बताइएको छ ।

प्रधानमन्त्रीले प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रदेशका एक÷एक जनालाई फोन गर्ने भएका छन् । माओवादीले नेता कार्यकर्तालाई भेट्न पहिलो पटक कार्यतालिका बनाएको होइन ।

यसअघि पनि कार्यतालिका बनाएर पार्टी कार्यालयमा नेता कार्यकर्ता र सर्वसाधारणलाई भेट्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

सचिव गणेश शाहले सरकार र पार्टीलाई जोड्न, भेटघाट गर्न पार्टी कार्यालयमा प्रधानमन्त्रीदेखि मन्त्रीहरु आउने कार्यतालिका बनाइएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us