बारा–२ मा जित्ने संकेत देखियो: पौडेल

काठमाण्डु टुडे २०७९ चैत २० गते १५:१६ मा प्रकाशित

काठमाण्डु,२० चैत– बारा–२ मा आगमी १० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराउन पुगेका छन् ।

एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन भएका छन ।

मनोनयन दर्ताका लागि जानुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले आफूले चुनाव जित्ने पक्का भएको बताएका छन ।

उनले भने, ‘बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो’ ‘अहिले फेरि जित्ने संकेत आएको छ ।

एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा रहेका छन ।’

उनले बारा– २ मा गठबन्धनले काम नगर्ने बताएका छन । उनले भने, ‘गठबन्धन नेताहरुबीचको हो । जनताको बीचको होइन’ ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्दृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ ।

एमाले यो गरेर देखाइसकेको छ । त्यसैले बारा–२ मा एमालेले जित्छ ।’ उनले एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जनताले उपनिर्वाचनमा मतदान गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us