सरकारले निराशा हटाउने गरी काम गर्छः बस्नेत

काठमाण्डु टुडे २०७९ चैत १८ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १८ चैत– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे। उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे ।

‘देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ। मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरूरी छ,’ मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औंल्याए। ‘मानिसमा आशा जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us