सबै मन्त्रीले मेरोजस्तै काम गरे देश बन्न समय लाग्दैन: मन्त्री खान

काठमाण्डु टुडे २०७९ चैत १७ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, १७ चैत– खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन ।

आज (शुक्रबार) सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको पनि बताएका छन ।

उनले भने ‘पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन ।’

उनले आफु मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणा गरेको स्मरण गर्दै उनले त्यो घोषण अनुसार सिंहदरबारबाट काम सुरु गरेको बताएका छन ।

शुक्रबार खानेपानी मन्त्रालय, काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी सिंहदरबारभित्र स्वच्छ खानेपानी धाराको उद्घाटन गरेका हुन ।

उनले अब छिटै नै विभिन्न सार्वजनिकस्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताएका छन ।

मन्त्री खानले बोतल र जारको पानीको मुल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने बताएका छन । उनले अबको पाँच वर्षभित्र खाने पानी निर्यात गर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us