प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न किन विदेश जाँदै हुनुहुन्छ, दाबेदारी कि ताबेदारी ?

काठमाण्डु टुडे २०७९ चैत १६ गते १६:१६ मा प्रकाशित

काठमाण्डु,१६ चैत – पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन । आज बिहीबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुङ्ग अवस्थामा रहेको पनि बताएका छन । उनले स्वाधीनता कमजोर अवस्थामा पुगेकाले चिन्ता बढेको बताएका छन । उनले भने, ‘ जहाँ राजनीति छताछुल्ल र भताभुङ्ग छ ।

अविश्वासको चक्र बढ्दो छ, राजनीतिप्रति र सरकारप्रति’, ओलीले भने, ‘विश्वसनीयताको प्यारा मिटर तल झरेको झर्यै छ । तर मान्छेको सरम पचाउने क्षमता पनि वृद्धि भएको देखिन्छ । समाज अधोगति र देशको अर्थतन्त्र बिग्रेको बिग्रै छ ।’

ओलीले हाम्रो स्वतन्त्रता अप्ठेरो स्थितिमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डता र भूमि खुम्चिँदो तथा सीमा मिचिँदो अवस्थामा रहे पनि सरकार मौन अवस्थामा बसेको बताएका छन ।

उनले भने, ‘सरकार मौन छ किनभने यसमा बोल्यो भने सत्ता धरापमा पर्न सक्छ । देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रको पक्षमा बोल्न सकिँदैन भने त्यो सरकार भन्न लायक नै छैन’  ।

अध्यक्ष ओलीले नेपालको जमिनका बारेमा सरकारलाई बोल्न आग्रह समेत गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जाँदै गरेको भनेको सुनेको भन्दै तपाई किन जाँदै हुनुहुन्छ भनेर प्रश्न गरे ।

‘के गर्न जाँदै हुनुहुन्छ । आफ्नो जमिनको दाबेदारी गर्न जानुहुन्छ कि ताबेदारी ? के गर्न ?’, ओलीको प्रश्न छ । उनले १० दलीय गठबन्धनमा रहेका दलहरुबीच कुनै विचार र सिद्धान्त नमिले पनि उनीहरूको गठबन्धन र सरकार बनेको भन्दै सरकारको नीति गन्तव्य केही नरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us