
काठमाण्डु,१५ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन् ।
मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘ नेपालको संविधान ०७२ को धारा १८८ को उपधारा २ बमोजिम मैले मलाई प्रदेश सभामा विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकोले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गर्दछु’ छ ।
शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको प्रदेश सभा प्रमुख सचिव जिवराज बुढाथोकीले जानकारी दिएका छन ।
मुख्यमन्त्रीज्यूले १७ गते विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गरिदिन सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभा सचिव बुढाथोकीले भने, मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिने तयारी गरेका हुन ।
१७ पुसमा नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माघ ६ गते विश्वसको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए ।
तर राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। यता नेकपा एमालेबाट सरकारमा सहभागी एक मन्त्रीले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अहिले आफूसँग कुनै जवाफ नभएको बताएका छन ।