चितवन, १४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आफ्नो दल सरकारमा जानु समयको माग भएको बताएका छन् ।
उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले पत्रकारहरूसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए । सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको बताए ।
‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, उनले भने । सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले बताए ।
सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ । संविधानले बाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताए ।
संसदमा आफ्नो पार्टीबाट सांसदको प्रस्तुति फरक रहेको भन्दै उनले बोल्दा विषयवस्तु माथि टेकेर बोल्ने गरेको बताएका थिए ।