
काठमाण्डु,९ चैत– कांग्रेस महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन ।
आज (बिहीवार) सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको पनि बताएका छन । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताएका छन।
प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको उनले बताएका छन । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’
थापाले प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने पनि बताएका छन । उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् ।
मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’ थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको पनि बताएका छन ।
उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । उनले अहिलेसम्म यति धेरै मानिस निराश भएको नदेखेको बताउँदै भने, ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट
मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’